अलविदा सन् २०१२ ! के-के देखियो संसारमा यो वर्ष ?

Monday, December 31, 2012


 इस्वी संवतको सन् २०१२ सोमबार राति १२ बजेदेखि बिदा हुँदैछ । मंगलबारदेखि शुरु हुने नयाँ वर्ष २०१३ को स्वागतका लागि विदेशमा मात्रै होइन, नेपालमासमेत भव्य तयारी छ । नेपाली नयाँ वर्षजस्तै इस्वी संवतको नयाँ वर्षले पनि उसैगरी चर्चा, चहल-पहल, उत्साह र उमंग ल्याउने गरेको छ ।
नयाँ वर्षको स्वागत गर्ने क्रममा विदाइ हुन लागेको पुरानो वर्षलाई एकपटक फर्केर हेर्ने गरिन्छ । सन् २०१२ मा नेपालसहित विश्वका धेरै ठाउँमा धेरै घटना भएका छन् । कुनै नियमित, कुनै आकस्मिक, कुनै आश्चर्यलाग्दा र कुनै आङ नै सिरिङ्ग हुनेखालका । देश-विदेशमा भएका धेरै घटनाक्रममध्ये हामीले केही मुख्य घटनाक्रमलाई यहाँ प्रस्तुत गर्दैछौं ।
१. नेपालमा सहमति र म्याद थपको वर्ष
सन् २०११ मा जस्तै सन् २०१२ मा पनि नेपालमा राजनीतिक अन्योल र अस्थिरता कायम रहृयो । पटकपटक म्याद थप्दा पनि संविधान बनाउन असफल भएर संविधानसभा नै बिघटन भयो । संविधानसभा हुँदासम्म संविधानका अन्तर्वस्तुबारेको विवादमा अल्भिmएका दलहरु त्यसपछि भट्टराई सरकारको वैद्यानिकता र सहमतीय सरकारको बहसमा बरालिन थालेका छन् ।
संविधानसभा बिघटनपछि मंसिरमा तोकिएको नयाँ चुनाव पनि हुन सकेन । फेरि सरकारले भनेजस्तो बैशाखमा चुनाव हुने सम्भावना पनि देखिँदैन । राष्ट्रपतिले सहमतीय सरकार गठनको लागि सातपटक समय दिइसक्नुभएको छ । तर सरकार गठन प्रकृयाको यो लम्बेतान मेलो कहिलेसम्म तन्किन्छ पत्तो छैन । पहिले संविधानसभाको म्याद थप्ने बानी भएका दलहरुलाई अहिले सहमतीय सरकार गठनको लागि म्याद थप्ने बानी परेको छ ।
पहिले राज्य पुनर्संरचना लगायतका संविधानका अन्तर्वस्तुमा सहमति जुटाउन दौडधूप गर्ने नेताहरु अहिले सहमतीय सरकार भन्दै बेलाबेला छलफलमा जुट्छन् । तर सहमतीय सरकारको प्रकृयालाई लिएर सत्तारुढ र विपक्षीबीच मात्रै होइन प्रमुख सत्तारुढ माओवादीभित्र समेत विवाद बल्झेको छ । सन् २०१२ मा नेपालमा अरु पनि धेरै राजनीतिक र अरुखालका घटना भएका छन् । तर, सहमतिका लागि भन्दै हुने बैठक र पटकपटकको म्याद थपले बढी चर्चा पाउने गरेको छ ।
२. नेपालमा चारथरि वर्ष
सन् २०१२ को अवसरमा नेपालमा लुम्बिनी भ्रमण वर्ष, अन्तर्राष्ट्रिय सहकारी वर्ष, लगानी वर्ष र कर कार्यान्वयन वर्षको घोषणा भयो । सहकारी वर्ष विश्वका अन्य देशमा पनि मनाइएको हो । तर, अरु तीन वर्ष भने नेपालले मात्रै घोषणा गरेको । तर, वर्ष घोषणा गर्दा जस्तो तामझाम भएको थियो, यसको प्रतिफल चाहिँ सन्तोषजनक देखिएन ।
लुम्बिनीमा १० लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएपनि त्यो सफल हुन सकेन । यही वर्ष सहकारी सम्बन्धी विवादास्पद घटनाहरु सार्वजनिक भए । घरजग्गामा लगानीको कारण वचतकर्ताको रकम जोखिममा परेकोदेखि सहकारी सञ्चालक फरार रहेका घटनाले सहकारीप्रतिको विश्वसनीयतामा प्रश्नचिन्ह लाग्यो ।
लगानीको क्षेत्रमा पनि सन्तोषजनक प्रगति देखिएन । ८५ वटा ठूला आयोजना निर्धारण गरेर लगानीकर्तालाई आकषिर्त गर्ने भनिए पनि पश्चिमसेतीमा बाहेक अन्यत्र लगानीकर्ता ल्याउन सकिएको छैन । लगानी बोर्ड गठन गर्ने काम मात्र भएको छ । करको क्षेत्रमा भने केही चेतनामुलक कार्यक्रम भएका छन् । करदाता सम्मान र जनचेतनामुलक कार्यक्रमले कर संकलन बृद्धि हुने अपेक्षा गरिएको छ ।
३. महिला हिंसाको डरलाग्दो रुप
सन् २०१२ को अन्त्यमा भारतमा भएको किशोरी बलात्कारको घटनाले सारा विश्व नै हल्लायो । राजधानी दिल्लीमा सार्वजनिक बसभित्र सामुहिक बलात्कारमा परेकी छात्राको उपचारका क्रममा निधन भयो । यो घटनाले भारतको सडकदेखि संसदसम्म ठूलै हल्लीखल्ली मच्चायो । बलात्कारीलाई मृत्युदण्डको सजाय हुनुपर्ने मागसहित भारतभर प्रदर्शन भयो । बलिउडका हस्तीहरुले पनि दोषीलाई नपुंसक बनाउनुपर्ने माग गरे । यसअघि जून महिनामा पनि भारतकै विहार राज्यमा छात्रालाई सामुहिक बलात्कार गरेर सीडी बनाउने भन्दै ब्लायकमेल गरिएको घटना सार्वजनिक भयो । यही वर्ष भारतको मुम्बईमा नेपाली छात्रामाथि पनि बलात्कार भएको खबर आयो ।
यहीबेला नेपालमा पनि महिलामाथि भएका हिंसाका घटना सार्वजनिक भएको छ । महिला हिंसा बिरुद्धको १६ दिने अभियानको अवधि र यस आसपासमा भएका धेरै घटनाले सबैलाई स्तब्ध बनायो ।
४. पृथ्वी ध्वस्त हुने हल्ला
सन् २०१२ को अन्त्यमा डिसेम्बर २१ मा पृथ्वी ध्वस्त हुन्छ भन्ने हल्लाले संसारभर चर्चा पायो । माया क्यालेन्डर सन् २०१२ को डिसेम्वर २१ मा सकिने हुनाले पृथ्वीको आयु पनि सोही क्यालेन्डर अनुसार समाप्त हुने र पृथ्वीमा प्रलय आउने हल्लाले व्यापक रुप लिए । उत्तरी र दक्षिणी ध्रुव फेरबदल हुने र विद्युत्तीय उपकरणले काम नगर्ने चर्चाले सबैतिर खैलीबैली भयो ।
सामाजिक सञ्जाल र यू-ट्युवमा यस्ता हल्ला र पृथ्वी ध्वस्त हुने काल्पनिक दृश्यले सबैलाई भयभित बनायो । साँच्चै पृथ्वी ध्वस्त हुने हो कि भनेर धेरै मानिस डराए पनि । डर, त्रास बढ्दै गएपछि खगोजलविद् र ज्योतिषशास्त्रीले केही हुँदैन भनेर आश्वस्त पारे । तैपनि मान्छेमा डर कम भएन । आखिर डिसेम्बर २१ आयो, गयो । कहीँ, कतै केही भएन । डिसेम्बर २२ लाग्ने बित्तिकै यो हल्ला पनि त्यत्तिकै सकियो ।
५. शक्ति-राष्ट्रमा सत्ता फेरबदल र नेतृत्व
यो वर्ष नेपालमा सत्ता परिवर्तन त भएन । तर दलहरुमा टुटफुट र विभाजनका श्रृँखला भए । संविधानसभा बिघटन लगत्तै एकीकृत नेकपा माओवादी फुट्यो । मोहन वैद्य नेतृत्वमा नयाँ पार्टी गठन भयो । कांग्रेस र एमालेका केही नेताहरुले पार्टी छाडेर अलग्गै समूह बनाए ।
नेपालमा राजनीतिक दलहरुभित्र टुटफुट भैरहेका बेला विश्वका शक्तिशाली देशहरुमा भने सत्ता हस्तान्तरण र नयाँ चुनाव भए । हरेक चारवर्षमा हुने अमेरिकी राष्ट्रपति पदको चुनावमा डेमोक्रेटिक पार्टीको तर्फबाट बाराक ओबामा पुनः निर्वाचित भए । यही वर्ष भारतमा प्रणव मुखर्जी राष्ट्रपतिमा निर्वाचित भए । यस्तै भेनेजुयलामा हृयुगो चाबेज पनि यही वर्ष राष्ट्रपतिमा पुनःनिर्वाचित भए ।
यही वर्ष चीनको सत्तारुढ कम्युनिष्ट पार्टीमा नेतृत्व परिवर्तन भयो । ऐतिहासिक समारोहका साथ सी जिनपिङलाई निचियाँ कम्युनिष्ट पार्टीको प्रमुखको रुपमा चयन गरियो । उनले छिट्टै वर्तमान राष्ट्रपत हु जिन्ताओको स्थान लिनेछन् ।
यस्तै उत्तर कोरियामा पनि तत्कालिन राष्ट्रपति किम जोङ इलको मृत्युपछि उनका कान्छा छोरा किम जोङ उनलाई नेतृत्व हस्तान्तरण गरियो । यसैवर्ष रसियामा पनि भ्लादिमिर पुटिन राष्ट्रपतिमा निर्वाचित भए । यद्यपि चुनावमा धाँधली भएको भन्दै देशभर प्रदर्शन भयो । रसियामा वर्षभरी नै पुटिनको बिरुद्धमा प्रदर्शन भैरहे ।
६. बैज्ञानिक खोज अनुसन्धान
यसै वर्ष नासाको मार्स रोभर क्युरियोसिटी अन्तरिक्ष यानले मंगल ग्रहमा सफलतापूर्वक अवतरण गर्यो । यसैवर्ष मेरुदण्ड भएको भ्यागुता जातको सबैभन्दा सानो प्राणी पत्ता लाग्यो । ७ मिलिमिटर लम्बाईको उक्त जीव पपुवा न्युगिनीमा पत्ता लागेको हो । यसै वर्ष वैज्ञानिकहरुले स्टेम सेल थेरापीको माध्यमबाट जन्मजात अन्धोपन हटाउन सकिने तथ्य पत्ता लगाए । अमेरिकी वैज्ञानिकहरुले पहिलोपटक मस्तिष्घात रोक्ने प्रविधिको सफलतापूर्वक परीक्षण पनि गरे । उनीहरुका अनुसार भविष्यमा मानिसको मस्तिष्कघात तथा दिमागको नशाभित्र हुन जाने क्षतिको उपचार सम्भव हुनेछ ।
यसैवर्ष वैज्ञानिकहरुले मानिसको बिर्सने रोग अर्थात अल्जाइमर्स लाग्न प्रमुख भूमिका खेल्ने एक प्रकारको प्रोटिनको उत्पादनलाई रोक्ने औषधिको विकास गरेका छन् । यस्तै डच तथा जर्मन वैज्ञानिकहरुले मस्तिष्कको पूर्ण रुपमा स्क्यान गर्ने र पक्षघातका बिरामीहरुलाई शरीरका नचल्ने अंगहरुमा मस्तिष्कको भाषा पठाउने यन्त्रको विकास गरेका छन् ।
यसै वर्ष अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा पठाइएको ड्रयागन उपनामको स्पेश एक्स अन्तरिक्ष यानलाई संसारमै पहिलो पर्यटक बोक्ने व्यापारिक अन्तरिक्ष यान बन्न पुग्यो ।
 ७. प्रविधिमा विकास
यस वर्ष पनि प्रविधितर्फ नयाँ र नौला सामग्री आविष्कार भएका छन् । विश्वभरका शक्तिशाली ५ सय कम्प्युटरमध्ये अमेरिकाको टाइटन मेशिन सबैभन्दा शक्तिशाली घोषणा भयो । यसै वर्ष पहिलोपटक ब्रोडब्यान्ड फाइवरमार्फत आफूले चाहेको व्यक्तिगत कम्प्युटरमा क्वान्टम सिंग्नल पठाउन सफलता मिल्यो । अमेरिकी वैज्ञानिकहरुले बिरामीको मस्तिष्कभित्रका अत्यन्त सूक्ष्म कार्यलाई सुचारु गराउने र नशाहरुलाई चलायमान गराउने पेसमेकर आकारको उपकरण पत्ता लगाए ।
यसैवर्ष गुगलले धेरै सुविधा भएको अध्याधुनिक चस्माको विकास गर्यो । जुन चस्मामा इन्टरनेट, क्यामेरा, मिडिया प्लेयर लगायतका सामग्री छन् । चस्माबाट तस्वीर खिचेर साथीभाइलाई पठाउन समेत मिल्छ ।
आइप्याड र ल्यापटपमा पनि नयाँ सामग्री आएका छन् । एप्पलले ३ सय ८ ग्राम तौल भएको आइप्याड मिनीको विकास गरेको छ । बिभिन्न सुविधा उपलव्ध आइप्याडलाई इन्टरनेट वाइफाइ, ब्लुटुथ तथा युएसबी माध्यमबाट चलाउन सकिन्छ । आवाजलाई अक्षरमा परिणत गर्ने तथा सेलुलर फोनबाट आएको आवाजलाई रेकर्ड गर्ने र त्यसलाई अक्षरमा परिणत गर्न सक्ने प्रविधि पनि जडान गरिएको छ । यसैवर्ष माइक्रोसफ्ट कम्पनीको सरफेस ट्याबलेट आयो । यसमा ल्यापटपको जस्तै छुट्टै किबोर्डको सुविधा छ । यसलाई बेर्न र पट्याउन मिल्छ भने अत्यन्तै हलुका र पातलो पनि छ ।
यसै वर्ष टेलिभिजन हेर्न मिल्ने नेक्सस टेनको पनि विकास भयो । सामसुङ कम्पनीले ग्यालेक्सी बिम प्रोजेक्टर मोबाइललाई बजारमा ल्यायो । यस्तै फरक विशेषता भएको सजिलो र किफायती थ्री डी पि्रन्टर पनि यसै वर्ष आयो । यसैवर्ष एलर्जी इलेक्ट्रोनिक कम्पनीले नफुट्ने स्मार्ट फोनको विकास गरेको छ । यस्तै ओडी कम्पनीले फरक विशेषता भएको ओडी इलेक्टि्रक बाइक बजारमा ल्याएको छ । अझ अर्को गजबको सामग्री-अमेरिकी वैज्ञानिकहरुले जस्तोसुकै भित्तामा पनि लेख्न सक्ने विद्युत्तीय कलम अर्थात मार्करको विकास गरेका छन् ।
८.गोलीकाण्ड र आतंक
यस वर्ष पनि विश्वका धेरै ठाउँमा आतंक र हिंसाका घटना भए । केही हिंसात्मक घटना र गोली काण्डले सारा विश्वको ध्यान तान्यो । सन् २०१२ को अन्त्यतिर अमेरिकाको कनेक्टिकटस्थित एउटा प्राथमिक विद्यालयमा भएको गोलीकाण्डमा २० बालबालिका सहित २८ जनाको मृत्यु भयो । यसैवर्ष अमेरिकाकै कोलाराडोमा एउटा सिनेमाहलभित्र गोली चल्दा १२ जनाको मृत्यु भयो ।
मेक्सिकोको तमुलियन शहरस्थित शान्त अमालिया जेलका कैदीहरुबीच भिडन्त हुँदा ३१ जना बन्दीको मृत्यु भयो । यस्तै श्रीलंकाको राजधानी कोलम्बो स्थित कारागारमा पनि यसै वर्ष भएको बन्दी र सुरक्षागार्ड बीचको झडपमा २८ जना गम्भीर घाइते भए । त्यसअघि श्रीलंकाकै तिकाडा कारागारमा बन्दी र सुरक्षकर्मीबीचको हिंसामा २६ जनाको मृत्यु भएको थियो । यसैवर्ष इजिप्टमा दुई खेल क्लवका समर्थकबीच भिडन्त हुँदा ७४ जनाको मृत्यु भयो ।
यसैवर्ष भारतमा गुडिरहेको रेलमा अकस्मात आगलागी हुँदा ४९ जनाको मृत्यु भयो । सुडानमा भएको विमान दुर्घटनामा मन्त्री सहित ३१ जनाको मृत्यु भयो । पाकिस्तानमा आवासीय क्षेत्रमा विमान दुर्घटना हुँदा एकसय २७ जनाको मृत्यु भयो । नेपालमा पनि यसै वर्ष चरासँग ठोक्किएर विमान दुर्घटना हुँदा १९ जनाको ज्यान गयो ।
यसैवर्ष उत्तर पश्चिमी पाकिस्तानको बस टर्मिनलमा विष्फोट हुँदा ३० जना सर्वसाधारणको मृत्यु भयो । फिलिपिन्समा बन्दुकधारीको आक्रमणबाट माछा मारिरहेका १५ जना सर्वसाधरणको ज्यान गयो । अफगानिस्तानको कन्दहारमा एक अमेरिकी सैनिकले सर्वसाधारणको घरमा प्रवेश गरी १६ जनाको हत्या गरे । इराक, पाकिस्तान, अफगानिस्तान लगायतका मुलुकमा बम विष्फोट र आतंकका घटना वर्षभर नै भैरहे ।
९. हस्तीहरुको निधन
यस वर्ष विश्वमा ठूला हस्तीहरुको निधन भएको छ । सन् १९९६ को साहित्यतर्फको नोबेल पुरस्कार विजेता बिश्लावा जिम्बोस्क्रा, पत्रकार मेरि कोल्भिन, इन्भिट्रो फर्टिलाइजेजनसको माध्यमबाट पहिलो पटक आमा बन्ने लेसली ब्राउन, कम्बोडियाका पूर्वराजा नरोद्धम सिंहानुक, चन्द्रमामा पहिलोपटक पाइला टेक्ने निल आर्मस्टङ, सन् १९६२ मा सर्वाधिक बिक्री भएको पुस्तक सेक्स एन्ड त सिंगल गर्लकी लेखिका हेलेन गुर्ले ब्राउन, पहिलो अमेरिकी महिला अन्तरीक्ष यात्री सेली राइड, भारतका प्रसिद्ध सितारावादक रवि शंकर, कलाकारहरु एस चोपडा र राजेश खन्नाको पनि निधन भयो ।
१०. भारतमा भ्रष्टाचार बिरोधी आन्दोलन
भारतमा यस वर्ष भ्रष्टाचारको मुद्दाले तहल्का मच्चायो । भ्रष्टाचाविरुद्ध प्रभावशाली कानुन बनाउन माग गर्दै आएका अन्ना हजारेले भारतमा मात्र होइन, विश्वभर नै चर्चा कमाए । दर्जनौं भ्रष्टाचार काण्डमा सरकारे केही गर्न नसकेको र कतिपय भ्रष्टाचारका मुद्दामा सत्ता सम्हाल्ने व्यक्तिहरु नै संलग्न रहेको भन्दै व्यापक बिरोध भयो ।
११. चीन र ग्रीसको चर्चा
यस वर्ष अमेरिकाले एसिया प्यासिफिक क्षेत्रमा ध्यान बढी केन्दि्रत गर्दा चीनलाई केही झस्कायो । यस क्षेत्रमा उदाउँदै गरेको शक्ति राष्ट्र चीन र फिलिपिन्सबीच बेलाबेला तनाव भैरहृयो । चीनले फिलिपिन्सबाट निर्यात हुने केरा प्रतिबन्ध लगायो । विवादित सेन्काकु टापुलाई जापानले नियन्त्रणमा लियो । यसको बिरोधा पनि चिनियाँहरुले इस्ट चाइना सी बन्द गरे । चीनले जापानी सामानहरु नै बहिष्कार गर्दा विवाद उत्पन्न गर्यो ।
यस्तै यसवर्ष ऋणका कारण ग्रीसमा पहिलोपटक आर्थिक संकट निम्तियो । यसले युरोपका धेरै देशलाई समेत असर गर्यो । ग्रीसबाट शुरु भएको युरोजोनको संकट पोर्चुगल, स्पेन सहित युरोप र अमेरिका हुँदै विश्वव्यापी बन्यो । यो संकट अझै केही दिन कायम रहने अनुमान छ ।
१२. बलिउडलाई सुखद वर्ष
सन् २०१२ बलिउडका लागि निकै सुखद बन्यो । यो बर्ष सलमान खान अभिनित एक था टाइगरले १९९ करोडको व्यापार गर्यो । यस्तै चलचित्र राउडी राठोर, अग्निपथ, जब तक हे जान, सन अफ सरदार, बोल बच्चन, बर्फी, हाउसफुल २ लगायतका सिनेमाले १ सय करोडको क्लबमा आफुलाई सामेल गराए । यो बर्ष बलिउडमा सलमान र साहरुख खान कै बर्चस्व रह्यो । नायिकामा कटि्रना कैफ, पि्रयंका चोपडा, अनुष्का शर्मा, असिन, सोनाक्षी सिंन्हालाई फाइदा भयो । तर चलचित्र तलाश सोचेअनुसारको नचल्दा आमिर खानको ३ बर्षपछिको पर्दा यात्रा सफल हुन सकेन । यस्तै विहेका कारण नायिका करिना कपुरको ब्रान्ड भ्यालु घटेको अड्कल काटियो । बलिउडले यो बर्ष यश चोपडा, राजेश खन्ना जस्ता चर्चित हस्तिहरुलाई गुमायो ।
बलिउड व्यापारीक रुपमा फस्टाउदै जादा कलिउड अर्थात नेपाली सिने नगरी भने घाटामा गयो । यो बर्ष प्रदर्शनमा आएका लुट, चपली हाइट, सायद, अन्दाज लगायतका सिनेमाले मात्र व्यापारीक रुपमा नाफा कमाए । यो बर्ष प्रदर्शनमा आएका १०० भन्दा बढी सिनेमामध्ये मुश्किलले ६ वटाले मात्र नाफा कमाए । जसका कारण कलिउडमा अघोषित संकटकाल लागेको अनुमान समेत गरियो । यो बर्ष स्टार भनिएका राजेश हमाल, विराज भट्ट, आर्यन सिग्देल, जीवन लुइटेलको कुनै दम चलेन । पर्दामा सौगात मल्ल, दयाह्याङ राइ, संयम पुरी जस्ता अनुहार उदाए । नायिकातर्फ रेखा थापा, झरना थापा, अरुणिमा लम्सालको पनि क्रेज घटेको अड्कल काटियो । तर उनीहरुलाई टक्कर दिने नायिकाको भने खडेरी नै लाग्यो । नेपाली सिनेमामा भने यो बर्ष सेक्स हाबी भयो ।
courtsey : onlinekhabar

गरिबलाई दान होइन मौका देऊ : युनुस

Monday, December 24, 2012

लघुवित्त कार्यक्रममार्फत गरिबी निवारणमा ख्याति कमाएका बंगलादेशी प्राध्यापक मुहम्मद युनुसले अर्को महत्त्वपूर्ण कार्यक्रम सामाजिक व्यापार (नाफारहित) सुरु गरेका छन्। लघुवित्त कार्यक्रमलाई संसारभर फैलाउन सफल उनले केही समयदेखि नाफारहित सामाजिक व्यापार सुरु गरेका हुन्। 'बंगलादेशमा खोलिएका ५० भन्दा बढी संस्थाले सामाजिक व्यापार सुरु गरेका छन्,' नेपाल उद्योग परिसंघको वार्षिक साधारण सभाका अवसरमा शुक्रबार आयोजित 'माइक्रोफाइनान्स र सोसियल बिजनेस' कार्यक्रममा युनुसले भने, 'अहिले यो कार्यक्रम १२ मुलुकमा फैलिइसकेको छ।' 
लघुवित्तका पिता तथा नोबेल शान्ति पुरस्कार विजेता युनुसले यो नयाँ कार्यक्रम लघुवित्तको सहायक भएको जानकारी दिए। 'हामीले लघुवित्त कार्यक्रमबाट आएको नाफा यी ५० वटा संस्थामा लगानी गरेका छौं, उनले भने। यी संस्थाले कुनै पनि नाफा नलिई गरिब परिवारलाई सहयोग गर्दै आएको छ। यस्ता संस्था बिउबिजन वितरण गर्ने, शौचालय बनाउने, विद्यालय सञ्चालन गर्ने, सौर्य ऊर्जा उपलब्ध गराउने लगायत काम गर्छन्। 
युनुसले गरिबका लागि दान होइन मौका दिनुपर्ने बताए। 'गरिबसँग असीमित क्षमता छ। उनीहरुलाई अगाडि बढ्न कुनै मौका मिलेको छैन,' युनुसले भने 'लघुवित्त कार्यक्रमले उनीहरुलाई त्यही मौकामात्र दिएको हो, अरु सबै उनीहरुले नै गरेका हुन्।' 
बैंक धेरै भए पनि अधिकांश जनता यसबाट टाढा रहने गरेको जनाउँदै उनले कसरी सानो पुँजीबाट पनि जनताको आर्थिक अवस्थामा सुधार ल्याउन सकिन्छ भन्ने उदाहरण लघुवित्त कार्यक्रम भएको बताए। 'पैसा कमाउँदा सबै खुसी हुन्छन् तर त्योभन्दा खुसी पैसाले अरुलाई खुसी बनाउँदा हुन्छ,' उनले भने। 
उनले सन् १९७० तिर बंगलादेशमा सुरु गरेको यो कार्यक्रम मलेसिया, फिलिपिन्सलगायत मुलुक हुँदै नेपालमा आएको बताए। 'अहिले कति मुलुकमा यो कार्यक्रम लागु भएको छ भन्नुभन्दा कुन मुलुकमा लघुवित्त कार्यक्रम छैन भन्ने अवस्था आएको उनले बताए। अमेरिकामा पनि यो कार्यक्रम लागु भएको उनले जानकारी दिए। नेपालले पनि छोटो समयमा लघुवित्तमा गरेको उपलब्धिको उनले सह्राना गरे। 
अहिले नेपालमा सरकार तथा निजी क्षेत्रबाट सञ्चालित कम्तीमा एक सयभन्दा बढी लघुवित्त कार्यक्रमले लाखौं गरिब परिवारलाई समेटेका छन्। 
युनुसले बंगलादेशमा सञ्चालित लघुवित्त कार्यक्रम खाली गरिव परिवारलाई केही रकम कर्जा दिने मात्र नभएको जानकारी दिए। उनले गरिबव परिवारलाई आर्थिक रुपबाट मात्र नभई अन्य पक्षबाट पनि उकास्न जरुरी भएको बताए। 'हामीले गरिब परिवारलाई बिउ बेचेर यो कार्यक्रम सुरु गरेका थियौं,' उनले भने 'त्यसपछि सबैलाई चर्पी बनाउन लगायौं, सबै बालबालिकालाई स्कुल जाने वातावरण तयार पार्यौंे। 
प्राध्यापक युनुसले अधिकांश मुलुकमा प्रणालीमा प्रश्न नगर्ने प्रचलनले समस्या ल्याएको बताए। उनले लघुवित्तले प्रणालीमा प्रश्न गर्ने भएकाले सफल भएको बताए। 'गरिबलाई कर्जा दिएरमात्र उसको जीवनस्तर उस्कने होइन, उसका अन्य पक्षका समस्यालाई हेरेपछि मात्र यथार्थ उन्नति हुन्छ,' उनले भने। नेपालमा सञ्चालित लघुवित्त कार्यक्रमले भने विपन्नलाई कर्जा दिने र असुली गर्नेभन्दा अन्य पक्षलाई हेर्ने गरेका छैनन्। 
कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री बाबुराम भट्टराईले सन् १९९० बाट सुरु लघुवित्त कार्यक्रमले मुलुकको गरिबी निवारणमा महत्त्वपूर्ण भूमिका खेलेको बताए। उनले यो कार्यक्रममा अहिले १८ लाख परिवार प्रत्यक्ष संलग्न रहेको जानकारी दिए। मुलुकको आर्थिक वृद्धिदर दोहोरो अंकमा पुर्या्उन पनि लघुवित्तले सहयोगी भूमिका खेल्ने उनले धारणा राखे। 
गभर्नर युवराज खतिवडाले लघुवित्त कार्यक्रमले सिर्जना गरेको रोजगारीका कारण गरिबी निवारणमा सहयोग पुगेको बताए। 'यस्ता कार्यक्रमलाई कसरी स्थायित्व प्रदान गर्न सकिन्छ भन्ने अहिलेको प्रमुख समस्या हो,' उनले भने। 'लघुवित्त कार्यक्रमहरुलाई अहिले स्रोत कताबाट जुटाउने भन्ने प्रमुख समस्या छ,' उनले भने, 'यस्ता कार्यक्रम आफ्नै आर्थिक स्थायित्वमा खडा हुन सकेमात्र उद्देश्यमा सफल हुन सकिन्छ।' उनले लघुवित्त कार्यक्रमलाई बिमाको चुनौती पनि रहेको जानकारी दिए। 
परिसंघका अध्यक्ष विनोद चौधरीले बैंकले पैसा हुनेलाई मात्रै कर्जा दिने बताउँदै गरिबलाई ऋण दिई रोजगारी सिर्जना गर्न लघुवित्त कार्यक्रमले ठूलो सहयोग गरेको धारणा राखे। 

Label atas

Receive all updates via Facebook. Just Click the Like Button Below

Powered By Blogger Widgets

Receive all updates via Facebook. Just Click the Like Button Below...

Receive all updates via Facebook. Just Click the Like Button Below...

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. Kirandhakal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger