रबी लामिछानेको कीर्तिमानी टक सो

Saturday, April 13, 2013


१ बैशाख, काठमाण्डौं । गिनिज बुकमा विश्वकै सबैभन्दा लामोसमय सम्म अन्तवार्ता (टक शो) गर्ने अभिप्रायले विश्वको टेलिभिजन इतिहासमै पहिलो पटक नेपालमा न्यूज-२४ टेलिभिजनले सुरु गरेको ‘म्याराथन टक शो’ गएराती ११ बजे सकिएको छ ।
चैत २९ गते बिहीबार बिहान १० :३६ बाट सुरु भएको ‘टक शो’ शनिबार राती १० बजेर ३६ मिनेट सम्म कार्यक्रमका प्रस्तोता रवि लामिछानेले स्फूर्तिका साथ सञ्चालन गर्नुभएको थियो ।
rabi
गौतम बुद्ध नेपालमै जन्मिएको र ‘अब विश्वले चिन्नेछ नेपाल’ भन्ने मूल सन्देश विश्वभर प्रवाह गर्ने उद्देश्यले न्यूज-२४ टेलिभिजनको आयोजनामा विश्व टेलिभिजन इतिहासकै लामो ‘म्याराथन टक शो’ गरिएको थियो ।
‘टक शो’ को सुपरिवेक्षण गर्न गिनिज बुक अफ वल्र्ड रेकर्डका अधिकारीको टोली शुक्रबार राति न्यूज-२४ टेलिभजिनको कार्यालय आएका थिए ।
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले न्यूज-२४ टेलिभिजनको कार्यालय पानीपोखरीमा दीप प्रज्वलन गरी अभियानको सुरुवात गर्नुभएको थियो, भने बुद्ध जन्मस्थल लुम्बिनीमा म्याराथन धावक बैकुण्ठ मानन्धरले शान्तिदीप प्रज्वलन गरी अभियान सुरु गर्नुभएको थियो ।
एकीकृत नेकपा माओवादीका अध्यक्ष दाहालको अन्तरवार्ताबाट सुरु भएको ‘म्याराथन टक शो’ राति ‘महजोडी’ अर्थात चर्चित हास्यकलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको अन्तर्वाताबाट समापन गरिएको आयोजक संस्थाले जनाएको छ ।
बुद्ध जन्मस्थलबारे चलाइएका भ्रम चिर्दै नेपाललाई विश्व मानचित्रमा थप प्रचार गर्न सुरु गरिने ‘म्याराथन टक शो’ ले गिनिज बुकमा पनि कीर्तिमान राख्ने बताइएको छ ।
आयोजक न्यूज-२४ टेलिभिजनले सुरु गरेको यो अभियानअन्तर्गत दस लाख हस्ताक्षर सङ्कलन भइरहेको छ । देशका विभिन्न भागमा जारी हस्ताक्षर सङ्कलन दसलाख पुगेपछि संयुक्त राष्ट्रसङ्घका महासचिव वान कि मुनलाई बुझाइने छ । अभियानको व्यवस्थापन वेलकम इभेन्ट म्यानेजम्यान्टले गरेको हो ।
विगतमा नेपाल टेलिभिजनको चलचित्रलगायतका कार्यक्रम सञ्चालन गरेका लामिछाने पछिल्लो समय १० वर्षदेखि अमेरिकाको बाल्टिमोर सहरमा बस्दै आउनुभएको छ ।
courtesy : onlinekhabar.com

Admire Nepal.....

Breaking News : Ravi Lamichhane received Guinness Book word record title for 60 hours marathon talk show

Happy New Year 2070....

Together let us welcome the New Year with smiles on our faces and twinkle in our eyes. Let us together welcome all that our future holds for us in the coming year. Let us celebrate the coming year! Happy New Year to you.



साझा बसभित्र टेलिभिजन हेर्न पाइने (फोटो फिचर)

Tuesday, April 9, 2013


‘किलिण्डर’ले दुई रुपैंयाको टिकट नकाट्ने

२७ चैत, काठमाडौं । चिटिक्क परेको हरियो बसभित्र बस्न पनि धकलाग्दा सुविधाजनक सिट ! अगाडि र पछाडि सीसीटीभी ! चालकको माथिपट्टि ठूलो आकारको टेलिभिजन !

टेलिभिजन खोल्नेबित्तिकै गीत बज्न थाल्यो- ‘साझा बसमा जो पनि चढ्दछ, किलिण्डरले दुई रुपैंयाको टिकट काट्दछ……….।’ गीत बज्न थालेलगत्तै साझा यातायातका कार्यकारी अधिकृत पदमलाल महर्जनले अनलाइनखबरसित भन्नुभयो-’टिकटचाहिँ दुई रुपैंयाको हुँदैन है ।’
sajha-bus-main
नयाँ वर्ष अर्थात् आइतबारदेखि काठमाडौं उपत्यकामा सञ्चालनको तयारीमा रहेको साझा बसले सरकारले निर्धारण गरेको भाडादर लागू गर्ने भएको छ । साझाबस भन्नेबत्तिकै अरु बसभन्दा कम भाडा हुने आमयात्रुको अपेक्षा रहेपनि भाडा पहिलेजस्तो सस्तो नहुने भएको छ । ‘सरकारले तोकेअनुसार न्यूनतम १५ रुपैंया भाडा हो, तर अरु बसलेजस्तो हामी मनपरि भाडाचाहिँ लिँदैनौं’ महर्जनले भन्नुभयो ।
बन्द भएको झण्डै १२ वर्षपछि सञ्चालनको तयारीमा रहेको साझा बसले पहिलेजस्तै यात्रुको विश्वास जित्ने प्रयास गरेको छ । ‘विद्यार्थी, अपांग र ज्येष्ठ नागरिकलाई समेत भाडामा सहुलियत दिने हाम्रो तयारी छ’ महर्जनले भन्नुभयो । उहाँका अनुसार विद्यार्थी, अपांग र ज्येष्ठ नागरिकलाई १० रुपैंया भाडादर निर्धारण गरिएको छ । ज्येष्ठ नागरिकले सहुलियत दावी गर्न बृद्धभत्ता बुझेको प्रमाण पेश गर्नुपर्ने हुन्छ ।
सीसीटीभी र टेलिभिजन मुख्य आकर्षण
तत्काल १६ वटा बसमार्फत् काठमाडौंभित्र मार्फत् सञ्चालन हुन लागेको साझाले यात्रुलाई अध्याधुनिक सेवा, सुविधा दिने बताएको छ ।
sajha-bus-4
साझा बसमा रहेको टीभी ।
५४ वटा सिट भएको अत्याधुनिक बसभित्र टेलिभिजन स्क्रीन र सीसीटीभी जडान गरिएको छ । ‘बसको अघिल्लो र पछिल्लो भागमा राखिएका सीसीटीभीले अनधिकृत यात्रुको निगरानी गर्नेछ’ महर्जनले भन्नुभयो । यस्तै यात्रुलाई मनोरञ्जन, ट्राफिक चेतना र अरु शिक्षा प्रदान गर्न हरेक बसमा टेलिभिजन राखिएको छ । बसमा यात्रु हुँदासम्म टेलिभिजन चल्ने साझा यातायातले जनाएको छ ।
sajha-bus-3
बसमा रहेको रहेको सीटी टीभी देखाउँदै कार्यकारी अधिकृत पदमलाल मर्हजन ।
बिहान ५ बजेदेखि राति ११ बजेसम्म दुई रुटमा चल्ने साझा बसका थप विशेषता यस्ता छन् :
· हरेक बसमा दुईवटा ढोका । पछाडिको ढोकाबाट चढ्ने र अगाडिको ढोकाबाट ओर्लने मात्र । अगाडिको ढोकाबाट चढ्न नपाइने ।
· टिकट लिएर मात्रै यात्रा गर्न पाइने ।
· दुवैतिरका अघिल्ला सिट महिला, अपांग र अशक्त यात्रुको लागि मात्र ।
· बसको अगाडि र पछाडि आकस्मिक ढोका ।
· चालकको पछिल्तिर आगो निभाउने यन्त्र ।
· ‘पिक आवर’ मा हरेक १५ मिनेट र अरुबेला २० देखि २५ मिनेटमा बस छुट्ने ।
· सकभर क्षमताभन्दा बढी यात्रु नराख्ने । तर ‘पिक आवर’ मा यात्रुको घुईंचो हुँदा ठेलमठेल नहुने गरी मात्र सीट क्षमताभन्दा केही बढी यात्रु राख्ने ।
· उभिने यात्रुको सुविधाको लागि समाउने ठाउँको व्यवस्था ।
· सिट बेल्ट ।
चालकलार्इ ट्राफिक अवस्थाबारे जानकारी लिन छुट्टै रेडियो ।
· ‘ट्रान्सफर टिकट’ को सुविधा । अर्थात कलंकीबाट त्रिपुरेश्वर हुँदै एयरपोर्ट रुटको साझामा चढेको यात्रु त्रिपुरेश्वरमा ओर्लेर अर्को रुटमा चल्ने साझा बसबाट महाराजगञ्ज जान खोजेमा दोस्रो बसमा पूरै भाडा तिर्न नपर्ने । पहिलो बसमा पूरा भाडा र अर्को बसमा आधा भाडा तिरेर पुग्न सकिने ।
sajha-bus-7
पहिले अनावश्यक कर्मचारीका कारण घाटामा गएर बन्द भएको साझालाई त्यो अवस्थामा पुग्न नदिन सचेत भएको नयाँ व्यवस्थापनले जनाएको छ । अहिले अर्धसरकारी ढाँचामा साझा बस सञ्चालन गर्न लागिएको हो । तत्काललाई काठमाडौं बाहिर चलाउने योजना नरहेको साझा यातायातले जनाएको छ ।
sajha-bus-6
साझा बसमा महिलाका लागि छुट्याइएको सिट ।
sajha-bus-5
साझा बसमा अपाङ्गका लागि छुट्याइएको सिट ।
sajha-bus-2
sajha-bus-1
संचालनका लागि तयारी अवस्थामा राखिएका बसहरू ।
श्रोत  onlinekhabar.com

२०७० सालका सार्वजनिक एवं पर्व विदाहरु

Monday, February 11, 2013

नेपाल सरकारले २०७० साल वैशाख १ गतेदेखि २०७० साल चैत्र मसान्तसम्म एक वर्षभरिमा सबै सरकारी कार्यालयहरूलाई देहाय बमोजिमको सार्वजनिक, पर्व एवं सट्टा विदा र कार्यालय समय निर्धारण गर्ने निर्णय गरेको
                 Click image for download
                  स्रोत : गृह मन्त्रालय

अलविदा सन् २०१२ ! के-के देखियो संसारमा यो वर्ष ?

Monday, December 31, 2012


 इस्वी संवतको सन् २०१२ सोमबार राति १२ बजेदेखि बिदा हुँदैछ । मंगलबारदेखि शुरु हुने नयाँ वर्ष २०१३ को स्वागतका लागि विदेशमा मात्रै होइन, नेपालमासमेत भव्य तयारी छ । नेपाली नयाँ वर्षजस्तै इस्वी संवतको नयाँ वर्षले पनि उसैगरी चर्चा, चहल-पहल, उत्साह र उमंग ल्याउने गरेको छ ।
नयाँ वर्षको स्वागत गर्ने क्रममा विदाइ हुन लागेको पुरानो वर्षलाई एकपटक फर्केर हेर्ने गरिन्छ । सन् २०१२ मा नेपालसहित विश्वका धेरै ठाउँमा धेरै घटना भएका छन् । कुनै नियमित, कुनै आकस्मिक, कुनै आश्चर्यलाग्दा र कुनै आङ नै सिरिङ्ग हुनेखालका । देश-विदेशमा भएका धेरै घटनाक्रममध्ये हामीले केही मुख्य घटनाक्रमलाई यहाँ प्रस्तुत गर्दैछौं ।
१. नेपालमा सहमति र म्याद थपको वर्ष
सन् २०११ मा जस्तै सन् २०१२ मा पनि नेपालमा राजनीतिक अन्योल र अस्थिरता कायम रहृयो । पटकपटक म्याद थप्दा पनि संविधान बनाउन असफल भएर संविधानसभा नै बिघटन भयो । संविधानसभा हुँदासम्म संविधानका अन्तर्वस्तुबारेको विवादमा अल्भिmएका दलहरु त्यसपछि भट्टराई सरकारको वैद्यानिकता र सहमतीय सरकारको बहसमा बरालिन थालेका छन् ।
संविधानसभा बिघटनपछि मंसिरमा तोकिएको नयाँ चुनाव पनि हुन सकेन । फेरि सरकारले भनेजस्तो बैशाखमा चुनाव हुने सम्भावना पनि देखिँदैन । राष्ट्रपतिले सहमतीय सरकार गठनको लागि सातपटक समय दिइसक्नुभएको छ । तर सरकार गठन प्रकृयाको यो लम्बेतान मेलो कहिलेसम्म तन्किन्छ पत्तो छैन । पहिले संविधानसभाको म्याद थप्ने बानी भएका दलहरुलाई अहिले सहमतीय सरकार गठनको लागि म्याद थप्ने बानी परेको छ ।
पहिले राज्य पुनर्संरचना लगायतका संविधानका अन्तर्वस्तुमा सहमति जुटाउन दौडधूप गर्ने नेताहरु अहिले सहमतीय सरकार भन्दै बेलाबेला छलफलमा जुट्छन् । तर सहमतीय सरकारको प्रकृयालाई लिएर सत्तारुढ र विपक्षीबीच मात्रै होइन प्रमुख सत्तारुढ माओवादीभित्र समेत विवाद बल्झेको छ । सन् २०१२ मा नेपालमा अरु पनि धेरै राजनीतिक र अरुखालका घटना भएका छन् । तर, सहमतिका लागि भन्दै हुने बैठक र पटकपटकको म्याद थपले बढी चर्चा पाउने गरेको छ ।
२. नेपालमा चारथरि वर्ष
सन् २०१२ को अवसरमा नेपालमा लुम्बिनी भ्रमण वर्ष, अन्तर्राष्ट्रिय सहकारी वर्ष, लगानी वर्ष र कर कार्यान्वयन वर्षको घोषणा भयो । सहकारी वर्ष विश्वका अन्य देशमा पनि मनाइएको हो । तर, अरु तीन वर्ष भने नेपालले मात्रै घोषणा गरेको । तर, वर्ष घोषणा गर्दा जस्तो तामझाम भएको थियो, यसको प्रतिफल चाहिँ सन्तोषजनक देखिएन ।
लुम्बिनीमा १० लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएपनि त्यो सफल हुन सकेन । यही वर्ष सहकारी सम्बन्धी विवादास्पद घटनाहरु सार्वजनिक भए । घरजग्गामा लगानीको कारण वचतकर्ताको रकम जोखिममा परेकोदेखि सहकारी सञ्चालक फरार रहेका घटनाले सहकारीप्रतिको विश्वसनीयतामा प्रश्नचिन्ह लाग्यो ।
लगानीको क्षेत्रमा पनि सन्तोषजनक प्रगति देखिएन । ८५ वटा ठूला आयोजना निर्धारण गरेर लगानीकर्तालाई आकषिर्त गर्ने भनिए पनि पश्चिमसेतीमा बाहेक अन्यत्र लगानीकर्ता ल्याउन सकिएको छैन । लगानी बोर्ड गठन गर्ने काम मात्र भएको छ । करको क्षेत्रमा भने केही चेतनामुलक कार्यक्रम भएका छन् । करदाता सम्मान र जनचेतनामुलक कार्यक्रमले कर संकलन बृद्धि हुने अपेक्षा गरिएको छ ।
३. महिला हिंसाको डरलाग्दो रुप
सन् २०१२ को अन्त्यमा भारतमा भएको किशोरी बलात्कारको घटनाले सारा विश्व नै हल्लायो । राजधानी दिल्लीमा सार्वजनिक बसभित्र सामुहिक बलात्कारमा परेकी छात्राको उपचारका क्रममा निधन भयो । यो घटनाले भारतको सडकदेखि संसदसम्म ठूलै हल्लीखल्ली मच्चायो । बलात्कारीलाई मृत्युदण्डको सजाय हुनुपर्ने मागसहित भारतभर प्रदर्शन भयो । बलिउडका हस्तीहरुले पनि दोषीलाई नपुंसक बनाउनुपर्ने माग गरे । यसअघि जून महिनामा पनि भारतकै विहार राज्यमा छात्रालाई सामुहिक बलात्कार गरेर सीडी बनाउने भन्दै ब्लायकमेल गरिएको घटना सार्वजनिक भयो । यही वर्ष भारतको मुम्बईमा नेपाली छात्रामाथि पनि बलात्कार भएको खबर आयो ।
यहीबेला नेपालमा पनि महिलामाथि भएका हिंसाका घटना सार्वजनिक भएको छ । महिला हिंसा बिरुद्धको १६ दिने अभियानको अवधि र यस आसपासमा भएका धेरै घटनाले सबैलाई स्तब्ध बनायो ।
४. पृथ्वी ध्वस्त हुने हल्ला
सन् २०१२ को अन्त्यमा डिसेम्बर २१ मा पृथ्वी ध्वस्त हुन्छ भन्ने हल्लाले संसारभर चर्चा पायो । माया क्यालेन्डर सन् २०१२ को डिसेम्वर २१ मा सकिने हुनाले पृथ्वीको आयु पनि सोही क्यालेन्डर अनुसार समाप्त हुने र पृथ्वीमा प्रलय आउने हल्लाले व्यापक रुप लिए । उत्तरी र दक्षिणी ध्रुव फेरबदल हुने र विद्युत्तीय उपकरणले काम नगर्ने चर्चाले सबैतिर खैलीबैली भयो ।
सामाजिक सञ्जाल र यू-ट्युवमा यस्ता हल्ला र पृथ्वी ध्वस्त हुने काल्पनिक दृश्यले सबैलाई भयभित बनायो । साँच्चै पृथ्वी ध्वस्त हुने हो कि भनेर धेरै मानिस डराए पनि । डर, त्रास बढ्दै गएपछि खगोजलविद् र ज्योतिषशास्त्रीले केही हुँदैन भनेर आश्वस्त पारे । तैपनि मान्छेमा डर कम भएन । आखिर डिसेम्बर २१ आयो, गयो । कहीँ, कतै केही भएन । डिसेम्बर २२ लाग्ने बित्तिकै यो हल्ला पनि त्यत्तिकै सकियो ।
५. शक्ति-राष्ट्रमा सत्ता फेरबदल र नेतृत्व
यो वर्ष नेपालमा सत्ता परिवर्तन त भएन । तर दलहरुमा टुटफुट र विभाजनका श्रृँखला भए । संविधानसभा बिघटन लगत्तै एकीकृत नेकपा माओवादी फुट्यो । मोहन वैद्य नेतृत्वमा नयाँ पार्टी गठन भयो । कांग्रेस र एमालेका केही नेताहरुले पार्टी छाडेर अलग्गै समूह बनाए ।
नेपालमा राजनीतिक दलहरुभित्र टुटफुट भैरहेका बेला विश्वका शक्तिशाली देशहरुमा भने सत्ता हस्तान्तरण र नयाँ चुनाव भए । हरेक चारवर्षमा हुने अमेरिकी राष्ट्रपति पदको चुनावमा डेमोक्रेटिक पार्टीको तर्फबाट बाराक ओबामा पुनः निर्वाचित भए । यही वर्ष भारतमा प्रणव मुखर्जी राष्ट्रपतिमा निर्वाचित भए । यस्तै भेनेजुयलामा हृयुगो चाबेज पनि यही वर्ष राष्ट्रपतिमा पुनःनिर्वाचित भए ।
यही वर्ष चीनको सत्तारुढ कम्युनिष्ट पार्टीमा नेतृत्व परिवर्तन भयो । ऐतिहासिक समारोहका साथ सी जिनपिङलाई निचियाँ कम्युनिष्ट पार्टीको प्रमुखको रुपमा चयन गरियो । उनले छिट्टै वर्तमान राष्ट्रपत हु जिन्ताओको स्थान लिनेछन् ।
यस्तै उत्तर कोरियामा पनि तत्कालिन राष्ट्रपति किम जोङ इलको मृत्युपछि उनका कान्छा छोरा किम जोङ उनलाई नेतृत्व हस्तान्तरण गरियो । यसैवर्ष रसियामा पनि भ्लादिमिर पुटिन राष्ट्रपतिमा निर्वाचित भए । यद्यपि चुनावमा धाँधली भएको भन्दै देशभर प्रदर्शन भयो । रसियामा वर्षभरी नै पुटिनको बिरुद्धमा प्रदर्शन भैरहे ।
६. बैज्ञानिक खोज अनुसन्धान
यसै वर्ष नासाको मार्स रोभर क्युरियोसिटी अन्तरिक्ष यानले मंगल ग्रहमा सफलतापूर्वक अवतरण गर्यो । यसैवर्ष मेरुदण्ड भएको भ्यागुता जातको सबैभन्दा सानो प्राणी पत्ता लाग्यो । ७ मिलिमिटर लम्बाईको उक्त जीव पपुवा न्युगिनीमा पत्ता लागेको हो । यसै वर्ष वैज्ञानिकहरुले स्टेम सेल थेरापीको माध्यमबाट जन्मजात अन्धोपन हटाउन सकिने तथ्य पत्ता लगाए । अमेरिकी वैज्ञानिकहरुले पहिलोपटक मस्तिष्घात रोक्ने प्रविधिको सफलतापूर्वक परीक्षण पनि गरे । उनीहरुका अनुसार भविष्यमा मानिसको मस्तिष्कघात तथा दिमागको नशाभित्र हुन जाने क्षतिको उपचार सम्भव हुनेछ ।
यसैवर्ष वैज्ञानिकहरुले मानिसको बिर्सने रोग अर्थात अल्जाइमर्स लाग्न प्रमुख भूमिका खेल्ने एक प्रकारको प्रोटिनको उत्पादनलाई रोक्ने औषधिको विकास गरेका छन् । यस्तै डच तथा जर्मन वैज्ञानिकहरुले मस्तिष्कको पूर्ण रुपमा स्क्यान गर्ने र पक्षघातका बिरामीहरुलाई शरीरका नचल्ने अंगहरुमा मस्तिष्कको भाषा पठाउने यन्त्रको विकास गरेका छन् ।
यसै वर्ष अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा पठाइएको ड्रयागन उपनामको स्पेश एक्स अन्तरिक्ष यानलाई संसारमै पहिलो पर्यटक बोक्ने व्यापारिक अन्तरिक्ष यान बन्न पुग्यो ।
 ७. प्रविधिमा विकास
यस वर्ष पनि प्रविधितर्फ नयाँ र नौला सामग्री आविष्कार भएका छन् । विश्वभरका शक्तिशाली ५ सय कम्प्युटरमध्ये अमेरिकाको टाइटन मेशिन सबैभन्दा शक्तिशाली घोषणा भयो । यसै वर्ष पहिलोपटक ब्रोडब्यान्ड फाइवरमार्फत आफूले चाहेको व्यक्तिगत कम्प्युटरमा क्वान्टम सिंग्नल पठाउन सफलता मिल्यो । अमेरिकी वैज्ञानिकहरुले बिरामीको मस्तिष्कभित्रका अत्यन्त सूक्ष्म कार्यलाई सुचारु गराउने र नशाहरुलाई चलायमान गराउने पेसमेकर आकारको उपकरण पत्ता लगाए ।
यसैवर्ष गुगलले धेरै सुविधा भएको अध्याधुनिक चस्माको विकास गर्यो । जुन चस्मामा इन्टरनेट, क्यामेरा, मिडिया प्लेयर लगायतका सामग्री छन् । चस्माबाट तस्वीर खिचेर साथीभाइलाई पठाउन समेत मिल्छ ।
आइप्याड र ल्यापटपमा पनि नयाँ सामग्री आएका छन् । एप्पलले ३ सय ८ ग्राम तौल भएको आइप्याड मिनीको विकास गरेको छ । बिभिन्न सुविधा उपलव्ध आइप्याडलाई इन्टरनेट वाइफाइ, ब्लुटुथ तथा युएसबी माध्यमबाट चलाउन सकिन्छ । आवाजलाई अक्षरमा परिणत गर्ने तथा सेलुलर फोनबाट आएको आवाजलाई रेकर्ड गर्ने र त्यसलाई अक्षरमा परिणत गर्न सक्ने प्रविधि पनि जडान गरिएको छ । यसैवर्ष माइक्रोसफ्ट कम्पनीको सरफेस ट्याबलेट आयो । यसमा ल्यापटपको जस्तै छुट्टै किबोर्डको सुविधा छ । यसलाई बेर्न र पट्याउन मिल्छ भने अत्यन्तै हलुका र पातलो पनि छ ।
यसै वर्ष टेलिभिजन हेर्न मिल्ने नेक्सस टेनको पनि विकास भयो । सामसुङ कम्पनीले ग्यालेक्सी बिम प्रोजेक्टर मोबाइललाई बजारमा ल्यायो । यस्तै फरक विशेषता भएको सजिलो र किफायती थ्री डी पि्रन्टर पनि यसै वर्ष आयो । यसैवर्ष एलर्जी इलेक्ट्रोनिक कम्पनीले नफुट्ने स्मार्ट फोनको विकास गरेको छ । यस्तै ओडी कम्पनीले फरक विशेषता भएको ओडी इलेक्टि्रक बाइक बजारमा ल्याएको छ । अझ अर्को गजबको सामग्री-अमेरिकी वैज्ञानिकहरुले जस्तोसुकै भित्तामा पनि लेख्न सक्ने विद्युत्तीय कलम अर्थात मार्करको विकास गरेका छन् ।
८.गोलीकाण्ड र आतंक
यस वर्ष पनि विश्वका धेरै ठाउँमा आतंक र हिंसाका घटना भए । केही हिंसात्मक घटना र गोली काण्डले सारा विश्वको ध्यान तान्यो । सन् २०१२ को अन्त्यतिर अमेरिकाको कनेक्टिकटस्थित एउटा प्राथमिक विद्यालयमा भएको गोलीकाण्डमा २० बालबालिका सहित २८ जनाको मृत्यु भयो । यसैवर्ष अमेरिकाकै कोलाराडोमा एउटा सिनेमाहलभित्र गोली चल्दा १२ जनाको मृत्यु भयो ।
मेक्सिकोको तमुलियन शहरस्थित शान्त अमालिया जेलका कैदीहरुबीच भिडन्त हुँदा ३१ जना बन्दीको मृत्यु भयो । यस्तै श्रीलंकाको राजधानी कोलम्बो स्थित कारागारमा पनि यसै वर्ष भएको बन्दी र सुरक्षागार्ड बीचको झडपमा २८ जना गम्भीर घाइते भए । त्यसअघि श्रीलंकाकै तिकाडा कारागारमा बन्दी र सुरक्षकर्मीबीचको हिंसामा २६ जनाको मृत्यु भएको थियो । यसैवर्ष इजिप्टमा दुई खेल क्लवका समर्थकबीच भिडन्त हुँदा ७४ जनाको मृत्यु भयो ।
यसैवर्ष भारतमा गुडिरहेको रेलमा अकस्मात आगलागी हुँदा ४९ जनाको मृत्यु भयो । सुडानमा भएको विमान दुर्घटनामा मन्त्री सहित ३१ जनाको मृत्यु भयो । पाकिस्तानमा आवासीय क्षेत्रमा विमान दुर्घटना हुँदा एकसय २७ जनाको मृत्यु भयो । नेपालमा पनि यसै वर्ष चरासँग ठोक्किएर विमान दुर्घटना हुँदा १९ जनाको ज्यान गयो ।
यसैवर्ष उत्तर पश्चिमी पाकिस्तानको बस टर्मिनलमा विष्फोट हुँदा ३० जना सर्वसाधारणको मृत्यु भयो । फिलिपिन्समा बन्दुकधारीको आक्रमणबाट माछा मारिरहेका १५ जना सर्वसाधरणको ज्यान गयो । अफगानिस्तानको कन्दहारमा एक अमेरिकी सैनिकले सर्वसाधारणको घरमा प्रवेश गरी १६ जनाको हत्या गरे । इराक, पाकिस्तान, अफगानिस्तान लगायतका मुलुकमा बम विष्फोट र आतंकका घटना वर्षभर नै भैरहे ।
९. हस्तीहरुको निधन
यस वर्ष विश्वमा ठूला हस्तीहरुको निधन भएको छ । सन् १९९६ को साहित्यतर्फको नोबेल पुरस्कार विजेता बिश्लावा जिम्बोस्क्रा, पत्रकार मेरि कोल्भिन, इन्भिट्रो फर्टिलाइजेजनसको माध्यमबाट पहिलो पटक आमा बन्ने लेसली ब्राउन, कम्बोडियाका पूर्वराजा नरोद्धम सिंहानुक, चन्द्रमामा पहिलोपटक पाइला टेक्ने निल आर्मस्टङ, सन् १९६२ मा सर्वाधिक बिक्री भएको पुस्तक सेक्स एन्ड त सिंगल गर्लकी लेखिका हेलेन गुर्ले ब्राउन, पहिलो अमेरिकी महिला अन्तरीक्ष यात्री सेली राइड, भारतका प्रसिद्ध सितारावादक रवि शंकर, कलाकारहरु एस चोपडा र राजेश खन्नाको पनि निधन भयो ।
१०. भारतमा भ्रष्टाचार बिरोधी आन्दोलन
भारतमा यस वर्ष भ्रष्टाचारको मुद्दाले तहल्का मच्चायो । भ्रष्टाचाविरुद्ध प्रभावशाली कानुन बनाउन माग गर्दै आएका अन्ना हजारेले भारतमा मात्र होइन, विश्वभर नै चर्चा कमाए । दर्जनौं भ्रष्टाचार काण्डमा सरकारे केही गर्न नसकेको र कतिपय भ्रष्टाचारका मुद्दामा सत्ता सम्हाल्ने व्यक्तिहरु नै संलग्न रहेको भन्दै व्यापक बिरोध भयो ।
११. चीन र ग्रीसको चर्चा
यस वर्ष अमेरिकाले एसिया प्यासिफिक क्षेत्रमा ध्यान बढी केन्दि्रत गर्दा चीनलाई केही झस्कायो । यस क्षेत्रमा उदाउँदै गरेको शक्ति राष्ट्र चीन र फिलिपिन्सबीच बेलाबेला तनाव भैरहृयो । चीनले फिलिपिन्सबाट निर्यात हुने केरा प्रतिबन्ध लगायो । विवादित सेन्काकु टापुलाई जापानले नियन्त्रणमा लियो । यसको बिरोधा पनि चिनियाँहरुले इस्ट चाइना सी बन्द गरे । चीनले जापानी सामानहरु नै बहिष्कार गर्दा विवाद उत्पन्न गर्यो ।
यस्तै यसवर्ष ऋणका कारण ग्रीसमा पहिलोपटक आर्थिक संकट निम्तियो । यसले युरोपका धेरै देशलाई समेत असर गर्यो । ग्रीसबाट शुरु भएको युरोजोनको संकट पोर्चुगल, स्पेन सहित युरोप र अमेरिका हुँदै विश्वव्यापी बन्यो । यो संकट अझै केही दिन कायम रहने अनुमान छ ।
१२. बलिउडलाई सुखद वर्ष
सन् २०१२ बलिउडका लागि निकै सुखद बन्यो । यो बर्ष सलमान खान अभिनित एक था टाइगरले १९९ करोडको व्यापार गर्यो । यस्तै चलचित्र राउडी राठोर, अग्निपथ, जब तक हे जान, सन अफ सरदार, बोल बच्चन, बर्फी, हाउसफुल २ लगायतका सिनेमाले १ सय करोडको क्लबमा आफुलाई सामेल गराए । यो बर्ष बलिउडमा सलमान र साहरुख खान कै बर्चस्व रह्यो । नायिकामा कटि्रना कैफ, पि्रयंका चोपडा, अनुष्का शर्मा, असिन, सोनाक्षी सिंन्हालाई फाइदा भयो । तर चलचित्र तलाश सोचेअनुसारको नचल्दा आमिर खानको ३ बर्षपछिको पर्दा यात्रा सफल हुन सकेन । यस्तै विहेका कारण नायिका करिना कपुरको ब्रान्ड भ्यालु घटेको अड्कल काटियो । बलिउडले यो बर्ष यश चोपडा, राजेश खन्ना जस्ता चर्चित हस्तिहरुलाई गुमायो ।
बलिउड व्यापारीक रुपमा फस्टाउदै जादा कलिउड अर्थात नेपाली सिने नगरी भने घाटामा गयो । यो बर्ष प्रदर्शनमा आएका लुट, चपली हाइट, सायद, अन्दाज लगायतका सिनेमाले मात्र व्यापारीक रुपमा नाफा कमाए । यो बर्ष प्रदर्शनमा आएका १०० भन्दा बढी सिनेमामध्ये मुश्किलले ६ वटाले मात्र नाफा कमाए । जसका कारण कलिउडमा अघोषित संकटकाल लागेको अनुमान समेत गरियो । यो बर्ष स्टार भनिएका राजेश हमाल, विराज भट्ट, आर्यन सिग्देल, जीवन लुइटेलको कुनै दम चलेन । पर्दामा सौगात मल्ल, दयाह्याङ राइ, संयम पुरी जस्ता अनुहार उदाए । नायिकातर्फ रेखा थापा, झरना थापा, अरुणिमा लम्सालको पनि क्रेज घटेको अड्कल काटियो । तर उनीहरुलाई टक्कर दिने नायिकाको भने खडेरी नै लाग्यो । नेपाली सिनेमामा भने यो बर्ष सेक्स हाबी भयो ।
courtsey : onlinekhabar

राष्ट्रपतिको भारत भ्रमण गैरजिम्मेवापूर्णः बैद्य माओवादी

Monday, December 24, 2012

९ पुस, काठमाडौं । नेकपा-माओवादीले सोमबारबाट सुरू भएको राष्ट्रपति डा. रामवरण यादवको भारत भ्रमणलाई गैरजिम्मेवारपूर्ण बताउँदै भ्रमण स्थगन गर्न माग गरेको छ ।
भ्रमणको पूर्वसन्ध्यामा सोमबार माओवादी प्रवक्ता पम्फा भुसालद्वारा जारी विज्ञप्तिमा भनिएको छ-’देशमा राजनैतिक सङ्कट र अन्यौल रहेका बेला राष्ट्रपतिको भारत भ्रमण असान्दर्भिक र गैरजिम्मेवारीपूर्ण छ । यो भ्रमण स्थगित गरेर सबै राजनैतिक पार्टीहरुसँग छलफल गरेर सार्थक निश्कर्ष निकाल्न हाम्रो पार्टी माग गर्दछ ।’
भुसालको वक्तव्यमा नेपाली जनताले नेपालको दैनिक राजनीतिमा समेत भारतीय शासक वर्गको हस्तक्षेप महसुस गरिरहेको बेला यो भ्रमण सन्देहको घेरामा पर्न सक्ने कुराप्रति राष्ट्रपतिलाई गम्भीरतापूर्वक ध्यान दिन भनिएको छ ।
विद्यमान राजनैतिक सङ्कट निकासका लागि सर्वपक्षीय सहमति खोज्नुभन्दा पनि तीन दल र मधेशी मोर्चाको गोलचक्करमा राजनीति घुमाइरहने राष्ट्रपतिको पछिल्लो प्रयत्नलाई पार्टीले गम्भीरतापूर्वक लिएको माओवादीले बताएको  छ । राष्ट्रपतिको यो कदमलाई अलोकतान्त्रिक प्रक्रियाको अभ्यास बताउँदै यही कारणले सोमबार डाकिएको विघटित संविधानसभामा उपस्थित दलहरुको बैठकमा सहभागी नभएको प्रवक्ता भुसालको प्रष्टोक्ति छ ।
‘सम्पूर्ण राजनीतिक प्रक्रियाको समीक्षा नै नगरी राष्ट्रपति महोदयले तीनै दलहरु र मोर्चाहरुका शीर्ष नेताहरुबाट राजनैतिक सङ्कटको निकास निकाल्ने प्रयासप्रति हाम्रो गम्भीर असहमति रहँदै आएको हो । तीनदल र मोर्चाका असफल शीर्ष नेताहरुबाट सही निर्णय निस्कन नसक्ने र तिनीहरुको निश्कर्ष राष्ट्रिय सहमतिसमेत हुन नसक्ने स्वतः छ ।’ नेतृ भुसालको वक्तव्यमा भनिएको छ ।
Courtesy : onlinekhabar.com

कमल थापाद्वारा धार्मिक युद्धको चेतावनी

Wednesday, December 19, 2012

रौतहट, पुस ४ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपाललाई तत्काल हिन्दु राज्य घोषण नगरे देशमा धार्मिक युद्ध सुरु हुने चेतावनी दिनुभएको छ । धार्मिक रथ यात्राका क्रममा रौतहटको गौर पुगेका थापाले जनताको सहमति बिना धर्म निरपेक्षता घोषणा भएकोले नेपालमा धार्मिक युद्ध कसैले नकार्न नसक्ने दावी गर्नुभयो । ‘एकै रातमा नेपालाई हिन्दु राज्यबाट धर्म निरपेक्ष बनाउदा राजनीति गरेको नहुने तर हामीले नेपाललाई हिन्दु राज्य राज्य कायम गर्न रथ यात्रा गर्दा राजनीति गरेको आरोप लाग्ने गरेको छ’, थापाले भन्नुभयो, ‘हिन्दु राज्यको वकालत गर्नु हाम्रो धार्मिक स्वतन्त्रता हो ।’ हिन्दु राज्यको पहिचान समाप्तीसंगै नेपालमा विभिन्न धर्मको बिचमा अविश्वास बढेको उहाँको भनाई छ । नेपाललाई सनातन धर्म सहितको हिन्दु राष्ट्र घोषणा गराएरै छाडने उहाँको भनाई छ ।  जनकपुरबाट सुरु रथयात्रा आज तेश्रो दिन रौतहट आइपुगेको हो । भोलि विरगञ्जमा रथयात्रा हुने छ । रथयात्रा ११ गते पशुपतिनाथको मन्दिरमा गएर सम्पन्न हुने छ ।

गोली लाग्यो ध्रुवेलाई, घाइते अवस्थामै भाग्न सफल

चितवन, पुस ४ (नागरिक) - माडीमा पछिल्लो पटक एक दम्पती मार्ने 'ध्रुवे' नामको हात्ती आज साँझ गोली लागेर घाइते अवस्थामा भागेको छ। साँझ ७१५ बजे निकुञ्जको टाइगर टप्स क्षेत्रमा सो हात्तीलाई नौ/दस गोली प्रहार गरिएको थियो। 
घाइते अवस्थाको हात्ती बस्तीमा प्रवेश गर्न सक्ने बताउँदै सो क्षेत्रमा थप सतर्कता अपनाइएको सुरक्षा स्रोतलाई उद्‌धृत गर्दै राससले जनाएको छ। गएराति निकुञ्जको पश्चिम क्षेत्र टाइगरटप्स नजिकै ध्रुवेमा जोडिएको रेडियो कलरको सङ्केत आएपछि सो क्षेत्रमा पालुवा पोथी हात्ती उसको आकर्षणका लागि छाडिएको थियो। निकुञ्जका रेञ्जर विष्णु थपलियाका अनुसार  पोथी हात्तीमा आकर्षण हुने भएकाले हिंस्रक हात्ती लोभिने र अन्यत्र नजाने र नियन्त्रणमा सहज हुने हुनाले यस्तो प्रविधि अपनाइएको थियो। हात्ती नियन्त्रण हुन नसकेको र माडीवासीको माग सम्बोधन हुन नसकेको भन्दै चितवनमा राजनीतिक दलसमेत आन्दोलित बनेका थिए। आन्दोलनमा एमाओवादी, नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा-माओवादी, राप्रपा, राप्रपा नेपाल, नेकपा (माले) र राष्ट्रिय जनमोर्चालगायत दलको सहभागिता थियो। उनीहरुले हिजो साँझ एक घन्टा चक्काजाम गरेकामा आज बिहान ११ देखि ३ बजेसम्म चितवन बन्दको समेत आह्वान गरेका थिए।

को हो ध्रुवे ?
२०६५ सालसम्म अहिलेको ध्रुवे हात्ती कता थियो कसैलाई पत्तो थिएन। स्थानीय र सरकारी अधिकारीका अनुमानमा सायद आफ्नै झुण्डसँग रमाउँदै थियो। तर २०६६ सालमा अचानक झुण्डसँग छुट्टिएको एक्लो जवान हात्ती चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ रहेको सेनाको ध्रुव पोष्टमा हिउँदताका छिर्यो। बसेका सेनाका जवानलाई लखेट्दै र त्यहाँका घर भत्काउदै उसले रातभरी आतंक मच्चायो। सेनाको टोलीसँग रहेको पोथी हात्ती उसको आकर्षण थियो। तर त्यहाँ रहेका सैनिक जवानले भेट्न नदिएको ठानेर उसले घर भत्काउने र मान्छे ताक्ने गर्न थाल्यो।त्यतिखेर निकुञ्जभित्र तैनाथ गोरखनाथ गण थियो। गणका सुरक्षाकर्मीले पोष्टतिर ढिम्कनै नदिनेगरेर पटक पटक उसलाई धपायो। ध्रुवपोष्टमा हैरान पारेकाले त्यहाँका सुरक्षाकर्मीले उसको नामै ध्रुवे हात्ती राखिदियो। अहिले रहेको नाम त्यहीबेला रहेको नाम हो। ध्रुव नामको व्यक्ति मारेको भएर हैन। 'ध्रुवपोष्टका सुरक्षाकर्मीले नै राखिदिएको नाम हो', तात्कालिन चितवन निकुञ्जका सहायक संरक्षण अधिकृत लालबहादुर भण्डारीले भने 'त्यही पोष्टबाट नै उसले आतंक फैलाउन शुरु गरेको हो।' उनका अनुसार पहिले पनि जंगली हात्तीले कहिलेकाँही घर भत्काउने बाहेक अरु क्षति गरको थिएन। लामो समय चितवन रहेर काम गरेका भण्डारी हाल निकुञ्ज विभागमा काजमा कार्यरत छन्। ध्रुवपोष्ट निशानामै रहेका बेला २०६६ साल माघ २२ गते पश्चिम चितवनको जगतपुर घैलाघारीमा शिवमन्दिरको उद्घाटन हुँदै थियो। जंगल र वस्तीको साँधमा रहेको शिवमन्दिर उद्घाटन गर्न स्थानीय र निकुञ्जका टोली तैनाथ थियो। शिवमन्दिर उद्घाटन सकिँदा नसकिँदै ध्रुवेको आतंक त्यहाँ फैलियो। ध्रुवे आएपछि स्थानीय र निकुञ्ज पदाधिकारीको भागाभाग नै भयो। तर सेनाका जवान रिद्धीविर दोङ उसको शिकार बन्यो। सुँडले उचाल्दै र खुट्टाले कुल्चँदै उसले रिद्धीविरलाई मारिदियो। सेनाका जवान रिद्धीविर मारेपछि उसलाई पश्चिम चितवनेहरुले रिद्धीविर नामाकरण गरिदिए।
२०६६ माघ २५ ताकाको भ्यालेन्टाइन डेमा चितवन राष्ट्रिय निकुञ्जभित्रको ठूलो होटल टाइगर टप्समा राम्रै रमझम चल्दै थियो। निकुञ्जको भिम्लेपोष्ट नजिकको होटलमा विदेशी र स्वदेशी पाहुनाहरु आफ्ना भ्यालेन्टाइनसँग रमाउँदै थिए। रातको मस्त भ्यालेन्टाइन पार्टीका बीच रिद्धीविर होटलमा प्रवेश गर्‍यो। होटलमा रमाउँदै गरेका पाहुनाहरु हाहाकार गर्दै कोटाचोटामा लुक्न गए। रिद्धीविरले भने भ्यालेन्टाइन डे मनाउन होटलको हात्तीसारमा रहेकी पोथी हात्ती चन्चलकलीलाई भगाएर लग्यो।
'भ्यालेन्टाइन डेका दिन पोथी हात्ती भगाएकाले रिद्धीविरबाट धुव्रेको नाम हामीले भ्यालेन्टिनो राखिदियौं', त्यतिखेर होटलमै रहेका कर्मचारी रामसिंह गुरुङले भने। एउटा दाह्रा भाँचिएर छोटो रहेको भ्यालेन्टिनोले चन्चलकलीलाई बिरामी नै बनाएको उनी बताउँछन्। 'अहिले पचास लाख पर्ने चन्चलकली बिरामी भएरै मरी, उनी ध्रुवेले दिएको पीडा सुनाउँछन्। त्यतिमात्र हैन हात्तीपोलोमा एम्पाएर भएर खेल्ने समशेर गज हात्तीसँग जुधेर त्यसलाई पनि मारिदियो।' पोलो खेल्दै गरेको समशेर गजलाई जंगल पुर्याएर मारेको थियो। २०६६ को वर्षाताका भ्यालेन्टिनो ध्रुवे त्यति देखिएन। तर हिउँद नआउदै मेघौलीतिर ढिम्कियो। २०६७ साल भदौ १९ गते गाउँको घरमा आक्रमण गरेर पूर्व हवल्दार शुकबहादुर गुरुङलाई मारिदियो। गाउँमा हात्ती पसको भन्दै स्थानीयले निकुञ्जलाई दबाब दियो। निकुञ्जका सुरक्षाकर्मीले हात्ती गाउँपस्न नदिन त्यहाँबाट भगायो। त्यसपछि फेरि ध्रुवे बनेर माडीमा पटक पटक माडीमा आतंक मच्चाउन थाल्यो। पश्चिम चितवनबाट खेदिएपछि दक्षिणमाडीमा ध्रुवेले बढी मानवीय क्षति पुर्‍याएको छ। कयौं पटक धुव्रेलाई गाउँ पस्न नदिन माडीका स्थानीयले रातभर आगो बालेर बिताए। तर पनि उसले मान्छे मार्न छाडेन। एउटा दाह्रा केही छोटो भएको र एउटा दाह्रा निकुञ्जले काटिदिएर रेडियोकलर मंसिर ६ गते जोडिदिएको हात्ती चितवनमात्र हैन पर्सा, रौतहट, बारा र भारतका सीमाक्षेत्रमा पनि आतंक मच्चाउन पुगेको पत्ता लागेको छ।
जवान हात्ती ध्रुवेको पोथीसँग बस्ने दिन हो। 'पोथीसँग सम्पर्क राख्ने चाहना तिब्र हुने बेला निस्कने समय बढी आक्रामक हुने गर्छ', निकुन्जका रेन्जर विष्णु थपलियाले भने विगत चार वर्षमा दुईपटक लठ्याएर जंगल छाडेका पनि हो तर आतंक घटेन।'
रेडियोकलर लाएदेखि १ सय ५० किलोमिटर दुरीको विचरण ध्रुवे हात्तीले गरेको छ। ध्रुवेले माडी,पर्साको ठोरी हुँदै रौतहट बकैया नदीसम्म पुगेर चारजनाको हत्या गरेको पुष्टि उनले गरे। मंसिर ३० गते माडीका बुद्धिविराम र जरिया बोट दम्पती जस्तै मंसिर २३ मा भारत सीमाको सिसवामा मंसिर २३ गते दम्पती भदई माझी र सुकई माझीको हत्या गरेको थियो।
'यही हात्ती हो कि हैन भन्ने अन्यौलमा थियौं थपलियाले भने तर रेडियोकलरको सूचना अनुसार जुन-जुन ठाउँमा ध्रुवेको उपस्थिती छ त्यहाँ मानिस मारिएका छन्। '
हात्तीको बानीबेहोरा अनुसार झुण्डमा रहेका बेला उसले बढी क्षति गर्दैन। तर साथी नहुँदा एक्लो भएपछि बढी आक्रामक बन्ने गर्छ। ध्रुवे हात्तीले भने मानिसको स्वर सुन्नै नहुने गएर मारिहाल्ने प्रवृत्ति देखाएको रेज्नर थपलिया बताउँछन्।
'आर्मीको लुगा र बन्दुक र उज्यालो देखे भाग्छ तर मान्छे कराएको सुन्यो भने त्यतै गएर मार्छ', उनले ध्रुवेको गतिविधिका बारेमा उनले बताए।
मानिस मार्ने क्रम नरोकिएपछि चितवनका प्रमुख जिल्ला अधिकारीको निर्देशनमा अहिले निकुञ्जका सुरक्षाकर्मी,रेन्जर रुपक महर्जन ,चिकित्सक कमल गैह्रे हात्ती मार्न जंगलमा अहोरात्र खटिएका छन्। रेडियोकलरबाट हात्ती जतागयो उतै उनीहरु चहारिरहेका छन्। तर भेटाउन नसकेको वार्डेन झमक कार्की बताउँछन्।
खोजी चलिरहेकै बेला माडीमा सोमबार राति पनि ध्रुवेले एकघर भत्कायो। तर पनि खोजीको टोलीले फेला पार्न भने सकेन्। माडी र जंगल दुबैतिर टोली राखेर हात्ती मार्न स्थानीयले चर्को दबाब दिइरहेका छन्।
courtsey : nagarikews.com

आगोको सुरुङमा घाइते भएका अर्का युवकको पनि निधन

समुन्द्र पौडेल, तनहुँ, पुस ४ - विश्व कीर्तिमानका लागि तनहुँको दमौलीमा निर्माण गरिएको सुरुङमा आगो लगाउने क्रममा आगलागीमा परी घाइते भएका व्यास ११ का भरत सिंह थापाको निधन भएको छ। एक सातादेखि काठमाडौँको सुन्धारास्थित लाइफकेयर अस्पतालमा उपचारार्थ थापाको बुधबार राति करिब १० बजे निधन भएको हो। 

१ सय ५ मिटर लामो आगोको सुरुङमा मोटरसाइकल कुदाएर विश्व किर्तिमान कायम गर्न तनहुँको दमौलीमा मंसिर २६ गते आयोजना गरेको कार्यक्रममा अगलागी हुदाँ भरत सिंह थापा र घाँसिकुवा ४ टारका सुरेश पन्थ घाइते भएका थिए। सुरेश पन्तको गत बिहीबार वीर अस्पतालमा उपचारको क्रममा निधन भएको थियो।
तनहुँ मिर्लुङका शम्शेर बहादुर लम्सालले १ सय ५ मिटर लामो आगोको सुरुङभित्र मोटर साइकल कुदाएर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउन कार्यक्रमको आयोजना गरेको थियो। आगोको सुरुङमा मोटर साइकल कुढाउने कार्यक्रमका आयोजक गण्डकी कम्प्युटर इष्टिच्युटका संचालक बसन्त सदाशंकर र मोटरसाइकल चालक शम्शेर बहादुर लम्साल प्रहरी नियन्त्रणमा छन्।
मृतकका परिवारलाई राहत उपलब्ध गराउन मानव अधिकार संजालको संयोजनमा सहयोग रकम संकलन शुरु गरेको छ। संजालले विभिन्न व्यक्ति र संघसंस्थासंग सहयोगको आह्वान गरेकोमा दमौलीका माधव बहादुर पन्तबाट ५ हजार रुपैया सहयोग प्राप्त भएको संजालका अध्यक्ष गोविन्द पन्तले बताए। उनले भने, 'सहयोगका लागि आह्वान भइरहेकाले अन्य व्यक्ति र संस्थाबाट समेत सहयोग आउने अपेक्षा गरेका छौ।'
सरकारकै मन्त्री सहभागी कार्यक्रम भएकाले मृतक परिवारलाई सरकारले राहतका लागि पहल गर्नुपर्ने पन्तको भनाई थियो।
मंसिर ९ गते सहकारी तथा गरिबी निवारण मन्त्री एकनारायण ढकाल र तनहुँका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले संयुक्त रुपमा सुरुङमा आगो लगाएर कार्यक्रमको उदघाटन गरेपनि आगो नबलेका कारण विश्व कीर्तिमानका लागि आयोजित कार्यक्रम मंसिर २६ मा सरेको थियो।

सर्वोच्च अदालतभित्र राजनीति !

न्यायाधीशबाटै हुन थाल्यो न्यायालयमाथि प्रहार


४ पुस, काठमाडौं । सर्वोच्च अदालतका बहालवाला न्यायाधीश रामकुमारप्रसाद साहले न्यायपरिषद् सदस्य एवं अदालतका न्यायाधीशहरु राजनीतिक आस्थाका आधारमा नियुक्त भएको र न्यायपरिषद्ले अन्य निकायबाट निर्देशित भएर काम गरेको आरोप लगाएपछि न्याय क्षेत्रमा खैलाबैला मच्चिएको छ । भर्खरै राजीनामा दिएका सर्वोच्चका अर्का एक न्यायाधीशले अझै एक कदम अगाडि बढेर न्यायाधीशहरुलाई ‘विदेश घुमुवा’ भन्नुभएको छ ।
मंगलबार न्यायपरिषद्को २२ औं वाषिर्कोत्सवमा भाषण गर्ने क्रममा साहले अन्य निकायको इशारामा न्यायाधीश भएका मानिसहरु आफूले देखेको भन्दै सार्वजनिक मञ्चबाटै न्यायपरिषद्को उछितो काढ्नुभएको हो ।
सर्वोच्च अदालतमा बहाल प्रधानन्यायाधीशसहित ७ न्यायाधीशमध्ये रामकुमारप्रसाद साह तेस्रो बरियतामा हुनुहन्छ । प्रधानन्यायाधीश खीलराज रेग्मीपछि दोस्रो बरियतामा दामोदरप्रसाद शर्मा हुनुहुन्छ भने तेस्रोमा रामकुमार, चौथोमा कल्याण श्रेष्ठ, पाँचौं गिरीशचन्द्र लाल, छैठौं सुसीला कार्की र सातौं वरियतामा प्रकाश वस्ती हुनुहुन्छ । अस्थायी न्यायाधीश वस्तीको पदावधि माघ ९ गते सकिएपछि सर्वोच्चमा छ जना न्यायाधीश मात्रै रहनेछन् ।
न्याय सेवामा शाखा अधिकृतदेखि प्रवेश गर्नुभएका साह ३० को दशकदेखि लगातार न्यायाधीश रहनुभएको छ । खिलराजको पदावधि सकिएपछि दामोदरजस्तै साह पनि केही महिनाका लागि प्रधानन्यायाधीश बन्न पाउने लाइनमा हुनुहन्छ । साहपछि कल्याण श्रेष्ठ छोटो समयका लागि प्रधानन्यायाधीश बन्ने लाइनमा हुनुहन्छ ।
उप्रेतीले गरे अदालतको आलोचना
यसैवीच हालैमात्र राजीनामा दिएका सर्वोच्च अदालतका अर्का न्यायाधीश भरतराज उप्रेतीले बुधबार एक दैनिक पत्रिकामा लामो अन्तरवार्ता दिँदै प्रधानन्यायाधीश खिलराज रेग्मीलाई ‘नेतृत्वका लागि फिट नभएको’ आरोप लगाउनुभएको छ ।’लिडर भनेको भिजनरी हुनुपर्छ, एउटा मुद्दा छिनेर ठूलो मान्छे भइँदैन । प्रधान न्यायाधीशले एउटा देवानी राम्रोसँग बुझेर मात्रै हुँदैन ।’ अन्तरवार्तामा उप्रेतीले संसद्को म्याद नथप्ने प्रधान न्यायाधीश रेग्मीको फैसलाको आलोचना गर्नुभएको छ । सर्वोच्च गरेको यही फैसलाका कारण आज सर्वोच्च अदालत खाली भएको उप्रेतीको जिकिर छ ।
पूर्वन्यायाधीश उप्रेतीले अन्तरवार्तामा भन्नुभएको छ-’कतिपय न्यायाधीश धेरैजसो विदेशमात्रै घुमिरहन्छन् । सर्वोच्चमा रहनेभन्दा पनि कति दिन बाहिर छ भनेर हेर्ने न्यायाधीश पनि छन् । अदालतको सम्पूर्ण ‘रि-स्ट्रचर’ गर्नुपर्छ । न्यायाधीशहरु जागिरे छन्, विदेश घुमुवा छन् । कोही पनि सेवामुखी छैनन् ।’
सर्वोच्च अदालत राजनीतिक विषयमा प्रवेश गरेको उप्रेतीको आरोप छ । ‘अदालतले गर्न नहुने काम ०५२ सालबाटै भएको हो । गिरिजाबाबुले संसद् विघटन गर्नुभयो । त्यो सर्वोच्चमा आयो । त्यसबेलाका प्रधानन्यायाधीशले यो ठीक छ भने । त्यसपछि त्यस्तै संकट आयो । यसबाट नै हामी राजनीतिक मुद्दामा छिर्यौं एउटा पार्टीको प्रधानमन्त्रीले संसद् विघटन गर्दा हुने अर्का पार्टीको प्रधानमन्त्रीले नयाँ निर्वाचनमा जान्छु भन्दा नहुने हुन्छ ?.. राजनीतिक विषयमा अदालतले हस्तक्षेप गरेपछि केही पनि बाँकी रहँदैन ।’- कारोबार दैनिकलाई बुधबार दिएको अन्तरवार्तामा उप्रेतीले भन्नुभएको छ ।
साहको संकेत ‘भरत स्क्वायर’ माथि
राजनीतिक आस्थाका आधारमा न्यायाधीश बनाइएको र सिकारु मान्छे सर्वोच्चमा आएको भन्ने साहको आरोप कोप्रति लक्षित छ भन्ने खुल्दुली पनि यतिबेला न्यायालयभित्र भइरहेको छ । तर, यसबारे अदालतका एकजना जानकार भन्छन् -’भर्खरै अस्थायी न्यायाधीशबाट अवकाश पाएका पूर्वन्यायाधीश प्रा.डा. भरतबहादुर कार्की र आफैं राजीनामा दिएका भरतराज उप्रेतीप्रति साहले संकेत गर्नुभएको हो । ल क्याम्पसबाट माधवकुमार नेपालले महान्यायाधिवक्ता बनाएका कार्की एमालेकै कोटाबाट न्यायाधीश बनेको र मुद्दा हेर्न नजानेर अरुले सिकाउनुपरेको चर्चा सर्वोच्चमा व्यापक थियो ।’
त्यसैगरी आफैं राजीनामा दिएका भरतराज उप्रेतीलाई पनि एमालेमा आस्था राख्ने र देवानी कानून नजान्ने न्यायाधीशका रुपमा लिइने गरेको स्रोत बताउँछ । तर, नेपाली कांग्रेस पृष्ठभूमिकी बहालवाला न्यायाधीश सुशीला कार्कीतर्फ भने साहले लक्षित गर्न नखोजेको स्रोतले अनलाइनखबरलाई बतायो ।
न्यायपरिषदमा एमाले हाबी
नेकपा एमालेका पूर्वकार्यकर्ता एवं न्यायपरिषद् सचिव जीवनहरि अधिकारी र एमालेकै कोटाबाट न्यायपरिषद् सदस्य बनेका खेमनारायणा ढुंगानाप्रति पनि न्यायाधीश रुष्ट देखिएका छन् । कांग्रेस कोटामा न्यायपरिषद् सदस्य बनेका उपेन्द्रकेसरी न्यौपानेमाथि पनि न्यायाधीश साहले लक्षित गर्नुभएको स्रोत बताउँछ ।
एमाले नेता झलनाथ खनालकै गृहजिल्ला घर भएका र उहाँसँग अत्यन्तै नजिक रहेका न्यायपरिषद् सचिव अधिकारी न्यायपरिषदमा जानुअघि विद्यार्थीकालदेखि नै एमाले कार्यकर्ता हुनुहुन्थ्यो । अधिकारीले इलामस्थित आफ्न छिमेकीविरुद्ध परेको एउटा मुद्दामा एमाले कार्यकर्ताको पक्षमा खुलेर लविङ गरिरहेको गुनासो मृतक छात्र विनय खापुङको परिवारले गर्दै आएको छ । त्यस्तै न्यायाधीशहरुलाई टेलिफोन गरेर सचिव अधिकारीले मुद्दामा हस्तक्षेप गर्ने गरेको गुनासो केही न्यायाधीशले गर्ने गरेका छन् ।
न्यायाधीशहरुको नियुक्ति, सरुवा-बढुवा र न्याय सेवाका कर्मचारीहरुको नेतृत्व गर्ने जिम्मेवारी पाएको न्यायपरिषदमा हाल सचिवसहित दुईजना एमाले र एकजना कांग्रेस पृष्ठभूमिका पदाधिकारी छन् । अध्यक्ष एवं प्रधानन्यायाधीश खीलराज रेग्मी र परिषद् सदस्य एवं सर्वाेच्चका न्यायाधीश दामोदरप्रसाद शर्मा अल्पमतमा हुनुहन्छ ।
रेग्मी सचेत रहेको दाबी
सर्वोच्च अदालतका एक पूर्वअधिकारीका अनुसार प्रधान न्यायाधीश रेग्मीसँग भिजन नभएको भन्ने उप्रेतीको आरोप सही छैन । यतिबेला न्यायाधीशहरुको म्याद थप्ने सिफारिस न्याय परिषद्बाट गराइएको भए डा. भरतबहादुर कार्कीजस्ता एमालेनिकटस्थहरु स्वतः स्थायी न्यायाधीश बन्थे र अदालतमा एमालेकरण अरु बढ्थ्यो । ‘त्यसैले अहिले न्यायपरिषदमा राजनीतिक व्यक्तिको बहुमत भएका बेला न्यायाधीश नियुक्त गर्नुभन्दा केहीबेर खाली रहन दिनु बेस हुने ठानेर प्रधानन्यायाधीश रेग्मी सचेत देखिनुभएको हो ।’-स्रोतले प्रधानन्यायाधीश रेग्मीको बचाऊ गर्दै अनलाइनखबरसित भन्यो ।
यसैवीच, प्रधानन्यायाधीश रेग्मीले बुधबार बीबीसी नेपाली सेवालाई अन्तरवार्ता दिँदै आफूले अन्तराष्ट्रिय पुरस्कारसमेत पाएको हुनाले आफ्नो कार्यक्षमतामाथि प्रश्न उठाउनु सही नभएको बताउनुभएको छ । सर्वोच्च अदालतले संविधानसभाको म्याद बढाउन नपाउने भनी आफूले गरेको फैसला सही रहेको तर्क गर्नुभयो । साथै न्यायाधीशहरुको रिक्तता पूर्ति गर्ने विषय आफ्नोमात्रै नभएर संवैधानिक विषय रहेको रेग्मीले बताउनुभएको छ ।

Label atas

Receive all updates via Facebook. Just Click the Like Button Below

Powered By Blogger Widgets

Receive all updates via Facebook. Just Click the Like Button Below...

Receive all updates via Facebook. Just Click the Like Button Below...

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. Kirandhakal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger